बिशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले आज बिहान ३ बजे जाजरकोट सदरमुकाम नजिक रहेको भेरी नगरपालिका ४ गैरीखाली गाउँबाट जुवा खेलिरहेको अवस्थामा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । पक्राउ पर्नेमा अर्का एक जना वडाध्यक्ष समेत रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले जुवाखालबाट ताससहित २ लाख ५२ हजार नगद समेत बरामद गरेको छ । पक्राउ परेकाहरुको नाम भने सार्बजनिक गरिएको छैन । जुवाडेहरुले मोबाइल बैंकिङको समेत प्रयोग गरेको हुन सक्ने अनुमान गरेको छ । उनीहरु सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।