काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र बन्दै गरेको रेस्टुरेन्ट निर्माणमा रोक लगाएका छन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले तत्काल निर्माणमा रोक लगाउन निर्देशन दिएका हुन् ।
मन्त्रालयअन्तर्गत नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बिना म्यानेजमेन्ट प्रालिलाई पत्र काटेर कार्य रोक्न निर्देशन दिएको हो ।
‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र प्रालिबीच सम्झौता भई अगाडि बढेको कामका सम्बन्धमा सञ्चार माध्यममा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बतास अर्गनाइजेसन अन्तर्गतको बिपिएस लिजिङ एन्ड म्यानेजमेन्टलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।
बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट बतास अर्गनाजेसनले पशुपति क्षेत्र विकास कोष अन्तर्गतको धर्मशालामा आनन्द पशुपति नामको होटल चलाउँदै आएको छ ।
नेपाल–भारतमैत्री पशुपति धर्मशाला तीर्थयात्रीका लागि भारत सरकारले बनाइदिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो धर्मशालाको उद्घाटन गरेका थिए ।
उक्त समूहले काठमाडौं महानगरपालिकाबाट भवन निर्माणको अनुमति नै नलिई नारायणहिटी दरबार संग्रहालयको पश्चिमपट्टि रेस्टुरेन्टका लागि धमाधम पक्की संरचना बनाउन थालेको थियो ।
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समितिको संरक्षक र सचिव यादवप्रसाद कोइराला समितिको अध्यक्ष रहेको पालामा रेस्टुरेन्ट खोल्न जग्गा भाडामा दिइएको थियो । मन्त्री भट्टराईले गत वर्ष मंसिर पहिलो साता तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ खुला गरेका थिए ।
दरबारभित्र रहेको १० रोपनी क्षेत्र रेस्टुेरन्टले प्रयोग गर्ने गरी भाडामा लगाएपछि त्यसको व्यापक विरोध सुरु भएको छ । पर्यटनमन्त्री आलेले रेस्टुरेन्ट निर्माणको काम र भाडा सम्झौता, टेन्डरसम्बन्धी कागजात तत्काल मन्त्रालयमा पठाउनसमेत निर्देशन दिएका छन् ।